दोलखाको गोंगर खोलामा लेदोसहितको डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा

दोलखा । दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा लेदोसहितको ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले बताए । दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्वात्तै बाढी आएको तामाङले जानकारी दिए ।
‘अहिलेसम्म धनजनको क्षति भएको थाहा भएको छैन, तर हामी बुझ्दै छौँ, अहिले म सिंगटीस्थित गाउँपालिकाको कार्यालयमै छु,’ उनले भने । उक्त गोंगर खोला तामाकोशीमा मिसिन्छ । बाढीका कारण तामाकोशी नदीको बहाव अत्याधिक बढेकाले तामाकोशी आसपास बसोबास गर्ने सम्पर्णलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञान बहादुर महतोका अनुसार, अहिलेसम्म त्यस्तो कुनै मानवीय क्षति भएको छ । ‘बाढी बढेर आएपछि हामीले सो क्षेत्रका स्थानीयलाई सतर्क भने गराएका छौं,’ डीएसपी महतोले जानकारी दिए ।