सुदूरपश्चिम प्रदेशका वनमन्त्री चौधरी बर्खास्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् । आज बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई बर्खास्त गरेका हुन् ।
‘मन्त्रिपरिषद् हेरफेर भयो । १० जनाको मन्त्रिपरिषद् थियो अब ९ जना भयो,’ उनले भने सुनाए । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन् । चौधरीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफै मातहत राखेका छन् । मुख्यमन्त्री शाहले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चौधरीलाई पदबाट राजीनामा गर्न यसअघि नै निर्देशन जारी गरेका थिए । तर चौधरीले राजीनामा दिन अटेर गरिरहेका थिए । नाउपाको संसदीय दलले मन्त्री चौधरीले राजीनामा नगर्ने बरु बर्खास्त गर्न मुख्यमन्त्री शाहलाई चुनौती दिएको थियो ।
मन्त्री चौधरीबाट गल्ती नभएको बताउँदै दल नेता घनश्याम चौधरीले गल्ती गरेको भए मन्त्रीलाई बर्खास्त गर्न चुनौती दिएका थिए । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको निर्देशकमा खेमराज जोशीलाई एकलौटी नियुक्ति गरेको, अनुदानमा पावरटिलर बाँड्न किसानबाट रकम असुलेको लगायत आरोपमा मन्त्री चौधरीलाई राजीनामा गर्न निर्देश जारी भएको थियो ।
चौधरी जेठ ४ गते उद्योगमन्त्री नियुक्त भएका थिए । उनीभन्दा अघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी उद्योगमन्त्री थिए । आर्थिक चलखेलको अडिओ सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाभित्र कस्लाई मन्त्री पठाउने भन्ने किचलोकै बीच रामेश्वरलाई दलका नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए ।