एमाले महासचिवको निर्देशन : नेतृत्वको बहस रोक्नुस्

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन् ।
आज (बुधबार) पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने समयमा नेतृत्वको बहसले पार्टीलाई फाइदा गर्दैन ।’
पूर्व राष्ट्रपति भण्डारीले एमाले राजनीतिमा फर्किएको घोषणा गरेसँगै अहिले एमाले वृत्तमा अनेक टीका टिप्पणी चलिरहेको छ । एमालेमा अहिले आगामी नेतृत्वका लागि ओली र भण्डारीका नाममा कित्ताकाट सुरु भएपछि महासचिव पोखरेलेको यस्तो निर्देशन आएको हो ।