कैलालीमा ८० वर्षीया वृद्धाको आफ्नै घरमा बिभत्स हत्या

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको आफ्नै घरमा विभत्स हत्या भएको छ । अमरावतीस्थित आफ्नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।
धारिलो हतियार प्रहारबाट घाइते भएकी शाहीको आज बिहान घरमै शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले जानकारी दिए । दुई तले घरमा एक्लै बस्दै आएकी शाहीका एक छोरा काठमाडौं र एक छोरा टीकापुर बस्दै आएका थिए । उनको शव घरको माथिल्लो तलामा फेला परेको थियो ।
मृतक शाहीको टाउको, घाँटी र छातीमा गम्भीर चोट लागेको बताउँदै डीएसपी बुढाथोकीले मृतकको टीकापुर अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको बताए । घटनाबारे स्थानीयले खबर गरेपछि अनुसन्धानमा खटेको प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ जारी रहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ । दुई वर्षअघि अमरावतीको एक सामुदायिक वनमा लागुऔषध प्रयोगकर्ताहरूले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए ।