नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनायो । नेपालका रौनक श्रीवास्तवले शतक बनाए । उनले १३२ बलमा १६८ रन बनाए । यस्तै जोय थापाले अविजित ६१, सिवान्स बजगाइँ ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए । भुटानका सन्जय डोर्जीले तीन विकेट लिए । यस्तै तेन्जिन लोडे जमत्सोले एक विकेट लिए । भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’ बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’ बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् । आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई ४२१ रनको फराकिलो अन्तरले हराएको थियो ।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । सेमिफाइनलका खेलहरु पर्सि बिहीवार हुनेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।