संसदमा डीपी अर्याल र रामहरि खतिवडाबीच ‘नोकझोंक’


२०८२ असार १५ आइतबार २१:५७ बजे

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच ‘नोकझोंक’ भएको छ । आज (आइतबार) को बैठकमा उनीहरुबीच भिजिट भिसा प्रकरणका विषयमा नोकझोक चलेको हो । सुुरुमा बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बीचमै उठेका थिए । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि बोल्न दिए ।

सांसद अर्यालले सुमिरे टुर एन्ड ड्राभल्ससम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको उक्त अभिव्यक्ति हटाउन माग गरेका हुन् । शनिबारको बैठकमा खतिवडाले सुमिरेले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । ‘सुमिरे टुर एन्ड ड्राभल्स मेरो हो । मेरो समय ठिक चलेको छ। अरूको घडी बिग्रिएको छ भने के भनौ’, अर्यालले भने, ‘कसैको निराधार आरोप संसदको रेकर्डबाट हटिनु पर्छ ।’

बैठकमा खतिवडाले पनि अर्यालले यसअघि बोलेको ‘चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । ‘कुनै माननीय सदस्यको नाम लिएको थिएन । चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो, यस्ता शब्द रेकर्डबाट हटाइयोस्’, खतिवडाले भने ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भने अर्याल र खतिवडा दुवैका उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । चोर चन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७