पाँच दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध हटाउन पाँच दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङको छानबिन माग गर्दै प्रतिपक्षी दुई दलले प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् । छलफलमा सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखले आह्वान गरेका छन् । महत्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नभएको भन्दै उनले सो आग्रह गरेका हुन् । निजामती शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन घिमिरेले अनुरोध गरेका छन् ।