यी १२ जिल्लामा सोमबारसम्म भीषण बर्षाको सम्भावना, आठ बुँदे चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा आज (शनिबार) रातिदेखि पर्सी (सोमबार) सम्म देशका पश्चिमी प्रदेशहरूमा भीषण वर्षा हुने सम्भावना देखिएको छ ।
यस सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै विभिन्न आठ बुँदे विशेष सूचना जारी गरेको छ । प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विशेष गरी लुम्बिनीको बर्दिया, बाँके र दाङ, कर्णालीको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्ला प्रभावित हुने उल्लेख गरिएको छ । भारी वर्षाको कारण पहिरो, बाढी, डुबान तथा गहिरो जमिन धस्ने घटनाको उच्च जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
अत्यावश्यक बाहेक अन्य यात्रामा नगर्नु, मौसमसम्बन्धी जानकारी नियमित रूपमा प्राप्त गर्नु, नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउनु, जोखिमयुक्त क्षेत्रमा स्थायी वा अस्थायी संरचना निर्माण नगर्नु र स्थानीय विपद् व्यवस्थापन समिति र सुरक्षा समितिलाई सक्रिय राख्नुपर्ने अपिलसँगै प्राधिकरणका प्रवक्ता सुरेश सुनारद्वारा हस्ताक्षरित सूचनामा स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा नागरिकस्तरका संस्थाहरूलाई उच्च सतर्कता र समन्वयमा रहन विशेष आग्रह गरिएको छ ।