सभामुखले बोलाए मुख्य दलका सचेतकरूको बैठक

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन् ।सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् । सभामुख घिमिरेले एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।
रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि तीन दलका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।
आजको बैठकबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।