नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका पति गम्भीर घाइते
काठमाडौं । नुवाकोटमा गए राति सुतेकै ठाउँमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान गम्भीर घाइते भएका छन् । नुवाकोटको ककनी गाउँपालिका–१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा श्रीमानसँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका पति अशोक बलामी भने बाढीमा परी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
ठूलो वर्षाका कारण गए राति बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको समेत तीन गोठ बगाएको हो । घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बन्चरेबाट गरी ६५ जना सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।
खोलाले पशुचौपायासहित विभिन्न सामान पनि बगाएको स्थानीयले बताएका छन् । यस्तै डोल्पाको काइके गाउँपालिका–४ रिवामा गए राति पहिरो जाँदा १५ वटा घर भत्केका छन् । उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।