ट्रम्पले भने–इरानले बहादुरीपूर्वक लड्यो

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘बहादुरीपूर्वक लडेको’ बताएका छन् । बीबीसीका अनुसार नेटो बैठकका क्रममा ट्रम्पलाई सोधिएको थियो–इरानविरुद्धको प्रतिबन्ध हटाउने विचारमा हुनुहुन्छ कि ?
जवाफमा उनले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरेका छन् र उनीहरूले बहादुरीपूर्वक लडेका छन् ।’ ‘यदि उनीहरू तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन् । देश पुनर्निर्माण गर्न उनीहरूलाई पैसा चाहिन्छ ।’ ट्रम्पले चीनले इरानबाट तेल किन्न सक्ने पनि बताए ।
ट्रम्पले अर्को हप्ता इरान र अमेरिकाबीच वार्ता हुने पनि बताएका छन् । उनले भने, ‘हामी सम्झौता गर्न सक्छौं । मलाई अहिले थाहा छैन । यो आवश्यक पनि छैन । उनीहरूले भर्खरै युद्ध लडेका छन् र उनीहरू (इरान) आफ्नो संसारमा फर्किएका छन् ।’
‘मैले भनेँ कि इरानसँग आणविक हतियार हुन सक्दैन । तिनीहरू नष्ट भएका छन् । हामीले तिनीहरूलाई नष्ट गरेका छौँ।’ अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो ।
तर इरानको आणविक प्रतिष्ठानमा आक्रमणबारे पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्यांकन रिपोर्टले इरानको आणविक कार्यक्रम नष्ट नभएको र यो केवल ‘केही महिनाको लागि’ पछि धकेलिको दाबी गरेको छ ।
तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन् ।’ इरानले पनि बदलास्वरूप गत सोमबार कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र हानेको थियो । तर कुनै हताहत भएन ।