नारायणगढ–मुग्लिन सडक : दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक

चितवन । नारायणगढ–मुग्लिन सडक बन्द हुने समय आज (बिहीबार) दिउँसो ३ बजेसम्म लम्बिएको छ । यो सडकको तुइन खोलामा सडकमा खस्न सक्ने अवस्थामा रहेका ढुंगा सफा गर्न आज बिहान ११ बजेदेखि सडक बन्द गरेर काम सुरू भएको थियो । एक बजेसम्म सडक बन्द रहने भनिए पनि काम नसकिएका कारण समय लम्बिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले माथिबाट ठूला ढुंगा झार्न समय लागेको बताए । तुइन खोलामा पहिरोको जोखिम रहने गरेको छ । नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो । राजमार्ग बन्द हुँदा सयौं सवारीसाधन रोकिएका छन् । उचाइमा काम गर्ने एक्स्काभेटरसहित पाँचवटा मेसिन आैजारले काम भइरहेकाले अब ३ बजेभित्र काम सक्ने साइट इन्जिनियर अर्जुन घिमिरेले बताए ।