निर्धारित समयअघि नै बन्यो बेनी चक्रपथ

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारको चक्रपथ सडक स्तरोन्नति योजना समयअघि नै सम्पन्न भएको छ। सहरी विकास तथा भवन आयोजना बागलुङ र काठमाडौंको निर्माण कम्पनीबीच २०८१ चैत १९ मा रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो।
विसं २०८२ असार १५ सम्मको म्याद रहेको यो योजना ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको आयोजनाका इन्जिनियर वीरबल सुनारले बताए । ‘सम्झौताअनुसार नाली, पर्खाल र ढलानको काम सकिएको छ,’ उनले भने, ‘प्राविधिक नापजाँच भइसकेको छ, तर भुक्तानी बाँकी छ ।’ बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदानसम्म ९०० मिटर लामो र ५ देखि ६ मिटर चौडा सडक ढलान गरिएको छ। रङरोगन र ‘आइ क्याट’ राखिएको यो सडक आकर्षक देखिएको छ।
अन्य आयोजना पनि समयअघि सम्पन्न
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले पर्याप्त मजदुर, उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर यो योजना समयअघि सम्पन्न गरेको बताए। बजेट अभाव, आर्थिक सङ्कट र सामग्रीको मूल्यवृद्धिका बाबजुद म्याग्दीका अन्य दुई आयोजना पनि लक्ष्यअघि सकिएका छन्। बेनी नगरपालिकाको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना तीन महिनाअघि सम्पन्न भएको छ । २०८१ पुस १९ मा रु दुई करोड नौ लाखमा ठेक्का सम्झौता भएको यो योजना २०८२ असार २५ भित्र सक्ने लक्ष्य थियो । प्रवेशबिन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रमा सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल, नाली र ढलानको काम चैतमा सकिएको थियो।
बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत तीन किलोमिटरको बेनी–गलेश्वर सडक स्तरोन्नति दुई वर्षको ठेक्का एक वर्षअघि नै सम्पन्न भएको छ। २०७९ पुस १७ मा रु १२ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको यो योजना २०८० पुसमा सकिएको थियो। ‘लक्ष्यअघि काम सम्पन्न गरे पनि भुक्तानीमा ढिलाइले समस्या भएको छ,’ कार्कीले भने, ‘झन्झट र ढिलासुस्तीले निराश भएको छु।’
चक्रपथमा चहलपहल
नदी कटानबाट जोगाउन तटबन्धमा ‘आरसीसी’ ढलान गरी बनाइएको चक्रपथले बेनीबजारलाई सुरक्षित र सुन्दर बनाएको छ। साँझ–बिहान पैदलयात्रा र गर्मी छल्न बजारवासीको चहलपहल बढेको छ । प्राविधिकका अनुसार, अन्तिम ढलान भएको २१ दिनपछि सडकमा यातायात सञ्चालन हुनेछ। आगामी वर्ष दरवाङ बसपार्क ढलान र टर्मिनल भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा प्रस्ताव गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।
‘देशभर १० नमूना नगरपालिका बनाउने सरकारी कार्यक्रमअन्तर्गत बेनीको चक्रपथ स्तरोन्नति भएको हो,’ उनले भने, ‘कालीगण्डकी र म्याग्दी नदी किनारको चक्रपथले सवारी आवागमन सहज बनाएको छ भने बजारको भित्री भागमा सवारी चाप र दुर्घटना जोखिम घटेको छ।’ बाढीको उच्च जोखिममा रहेको बेनीबजार संरक्षणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत पक्की पर्खाल निर्माण अन्तिम चरणमा छ। नदी नियन्त्रणका लागि पर्खाल बनाएर किनारमा माटो फिलिङ गरी सडक निर्माण गरिएको छ। रासस