सांसद केसीको टिप्पणी : देश अन्तै विलीन हुन्छ कि भनेर डराउँथे, आज फ्याट्ट आइहाल्यो !

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताकै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। हाल संसद् चल्नु पर्ने जसरी अघि नबढेको उनले बताएका छन्। उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।
‘अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ’, उनले भने। सत्ता र शक्तिमा भएकाहरूको इसारामा गोटी बनेर हिँड्दा दिन प्रतिदिन इज्जत क्षय भएर जाने उनले बताए। ‘सत्ता र शक्तिमा भएकाहरूले के भन्छन्, त्यसैको गोटी बनेर हिँड्ने हो भने हाम्रो दिन प्रतिदिन इज्जत क्षय भएर जान्छ।’ देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘नयाँ पिँढीलाई दुईवटा रोग छ। यहाँ केही हुन्न। लाखौँलाख बेचेकै छौँ त हामीले त’, उनले भने, ‘पैसा लिने अनि भेडाबाख्रा जस्तो लेनदेन नभए पनि हामीले बेचेकै त हो। यस्तो शिक्षा प्रणालीले देश बन्छ ?’
उनले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने बताएका छन्। संघीय प्रणाली नेपालको प्रगति र उन्नतिका निम्ति नल्याइएको उनले जिकिर गरे। ‘माननीय अमरेशजी (अमरेशकुमार सिंह) ले भनेको कुरासँग मेरो पनि आपत्ति छ । यो संघीयताको कारणले कतै देश अन्तै विलीन हुन्छ कि भनेर म पनि डराउँथे’, उनले भने, ‘आज उहाँको मुखबाट फ्याट्ट आइहाल्यो।’ उनले भने, ‘मैले भनेको थिएँ– यो संघीय प्रणाली नेपालको प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन।’ उनले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका निम्ति दुर्दशा भएको बताएका छन्।