रास्वपाले भन्यो–प्रधानमन्त्रीले हाम्रा कुरा नसुनेपछि बहिष्कार गर्यौं
‘संसदमा बोल्न दिइएन, जनतामा जानुको विकल्प रहेन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूका कुरा सुन्न नचाहेपछि संसद् बैठक बहिष्कार गरिएको बताएको छ। आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। तर, रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका थिए।
बैठक अरू कार्यसूचीमा प्रवेश गरेपछि रास्वपाले नाराबाजी गरेको थियो । बैठककक्षबाट प्रधानमन्त्री बाहिरिएपछि रास्वपाका सांसदले पनि बैठक बहिष्कार गरेका थिए। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफूहरूलाई बोल्न नदिएपछि बैठक बहिष्कार गरेको बताएका छन्। ‘हामी प्रधानमन्त्री ज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ। तर, उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो’, झाले भनेका छन्, ‘तसर्थ, हामीले बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएकाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।’
रास्वपाकी सांसद सोविता गौतमले सदनमा आज प्रधानमन्त्री समक्ष आफ्नो कुरा राख्न उठ्दा सभामुखले बोल्न नदिएको बताइन्। बैठक बहिष्कारपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको कुरा सरकारले नसुनेको बताइन् । उनले भनिन्, ‘जनताको आवाज सुन्ने थलो हो भन्ने, हामी आज जनताको आवाज राख्न उठेका थियौं। तर, हाम्रो कुरा सुन्दै नसुन्ने हो भने सदनको औचित्य के हुन्छ ? हामीले हाम्रो आवाज सुन्नुपर्यो, यो कुरालाई समाधानमा पुर्याउनु पर्याे भनेर आफ्नो कुरा राख्दै आइरहेका छौं। आज पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो, हामीले नचलाउनुस् भनेका होइनौँ, हाम्रो पनि प्रश्न थियो । हामीले भनेका कुरा उहाँलाई हामी प्रत्यक्ष कुरा राख्न चाहन्थ्याैं। उहाँ जबाफदेही भएर सुन्नु भएन।’ सदनमा बसेर बेकारको समय खेर फाल्नुको साटो जनतामा जान उपयुक्त हुने निष्कर्षसहित आफूहरू बाहिरिएको बताइन् । उनले थपिन्, ‘हामीलाई बोल्न समय दिइएन। पटक–पटक बोलेर आफ्नो कुरा राख्दा पनि नसुनिएपछि हाम्रो स्थान रहेन रहेछ भनेर आज बहिष्कार गरेका हौं । अब जनतामा जानुको के विकल्प भयो र ?’