कांग्रेसलाई रास्वपाको चुनौती : कि भिजिट भिसा छानबिन होस्, कि हामी मान्छे बेचिरहन्छौं भनियोस् 

‘हामीलाई कुर्सी तोड्न, माइक भाँच्न आउँदैन’ 


२०८२ असार ३ मंगलबार २०:५३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) पनि प्रतिनिधिसभा वैठकमा नाराबाजी र अवरोधलाई जारी राखेको छ। जसका कारण आजको प्रतिनिधिसभा सुरु हुनासाथ आधा घण्टाका लागि स्थगित भएको छ। वैठक स्थगित भएपछि रास्वपा सांसदहरुले सदन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिजिट भिसाको आवरणमा १८ वर्षदेखि जनता ठगिरहेको विषयमा छानबिन हुनुपर्ने अडान दोहोर्‍याएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन रहने बताए। उनले सदनमा एक जना उभिए पनि विरोध मानिएर अगाडि चलाउन नहुने अहिलेको गृहमन्त्रीले आफू विपक्षीमा हुँदा भनेको कुरा स्मरण गराए। उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘त्यही विधेयक ल्याउने गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नु भएको होइन ? एक जना प्रतिपक्ष उभिए पनि विरोध मानिनेछ सदन अगाडि नबढाइयोस् भनेर उहाँले नै बोल्नु भएको थियो । कि त्यो तर्क उहाँको लागि मात्रै थियो ? अरूको लागि होइन भन्नुपर्‍यो।’

उनले कांग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको मुद्दा नै होइन भनेर भन्न चुनौती दिएका छन्। उनले भने, ‘कि हाम्रो लागि यो मुद्दा नै होइन, हाम्रो प्राथमिकता नै अर्कै छ। हामी मान्छे बेचिरहन चाहन्छौं सधैँ भन्नु पर्‍यो । त्यसैले विधेयकहरूको महत्व बुझेर राजनीतिक समर्थन गर्छौ।’ उनले भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको आवश्यक छानबिन र दोषीलाई कारबाही हुनुपर्ने अडान दोहोर्‍याए । यता सत्ता साझेदार नेपाली कांग्रेसले रास्वपा सांसदहरू संसदीय मर्यादाविपरीत संसद्‍मा उपस्थित भएको भन्दै निष्कासन गर्न सभामुख समक्ष माग गरेको छ। भिजिट भिसा प्रकरणको विरोधमा उभिएको रास्वपाका सांसदहरू मंगलबार निलो रिबन भिरेर संसद् बैठकमा उपस्थित भएका थिए।

निलो रिबन भिरेरै नाराबाजी गरेपछि कांग्रेसले नियमापत्ति जनाउँदै रास्वपा सांसदहरूलाई निष्कासन गर्न सभामुख समक्ष माग गरेको हो। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‍मा मर्यादित पोसाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले भिरेको रिबन मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरेका थिए । ‘भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु,’ कांग्रेस सचेतक घिमिरेको भनाइ थियो।

घिमिरेको नियमापत्तिपछि प्रतिउत्तरस्वरूप रास्वपा सांसदहरूले ‘हामीलाई कुर्सी तोड्न आउँदैन’, माइक भाँच्न आउँदैन’ भन्दै नाराबाजी गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद् अवरोध गर्दै आएका छन्। उनीहरूले गत जेठ १३ देखि संसद् विरोध गर्दै आएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो रिबन लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७