रास्वपा लक्षित गोकुलको कटाक्ष : यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन्

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका छन्। सामाजिक सञ्जलामा लेख्दै नेता बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिने भन्दै कटाक्ष गरेका हुन्।
उनले रास्वपाका सांसद तथा नेताहरूले सरकारलाई आफूले पनि आलोचना नगरेर र अरूबाट हुन सक्ने मौका समेत बन्द गरेको बताएका छन्। यसका लागि रास्वपालाई सरकारले धन्यवाद दिनुपर्ने भनेर व्यंग्य समेत गरे।
उनले लेखेका छन्, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो। उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरूबाट हुन सक्ने मौका समेत बन्द गरिदिएर हुनसम्म सजिलो बनाइ दिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् होला। जे होस् देउसी लय मिलेको छ।’
रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएको भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै आएका छन्। फलतः उनीहरूले गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आइरहेका छन्। जेठ ३० गतेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि यही पंक्तिमा थियो । तर, ३० गते उसले सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्यो। त्यसयता उसले आफ्नो तर्फबाट संसद् खुलाएको छ । तर, रास्वपा र राप्रपाले भने जारी राखेका छन्।