संसदमा रास्वपा : सत्तापक्ष बोल्दा नाराबाजी, प्रतिपक्षी बोल्दा मौन

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आज (सोमबार) पनि वेल घेराउ र नाराबाजी गरिरहेका छन्। राप्रपाका सांसद भने बैठक बहिष्कार गरेर निस्किएका छन्।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेतले बोल्ने क्रममा भने रास्वपाका सांसद नाराबाजी रोकेर मौन बसेका छन्। माओवादीले दुई बुँदे सहमति गरेर सदन खुलाए पनि रास्वपाले त्यसमा असहमति राख्दै विरोधलाई जारी राखेको हो। माओवादीले धोका दिएको निष्कर्ष निकालेको रास्वपाले सदनमा माओवादीका सांसद बस्नेतले बोल्ने बेलामा भने मौन बसेको रास्वपाका प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार रास्वपाका सांसदहरूले आज हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, फासफुस सम्झौता चाहिँदैनलगायतको नारा लगाएका छन। रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको थियो । तर, त्यसमा सत्तापक्ष सहमत छैन। बस्नेतले आफूहरूसँग भएको सहमति अनुसार ३० दिन नलगाई तत्काल छानबिन समिति गठन गर्न माग गरे। रास्वपाले छानबिन समिति नबनेसम्म अवरोध जारी राख्ने आफूहरूसँग भनेको भन्दै सरकारलाई त्यतातर्फ ध्यानाकर्षण गराए । बस्नेत बोल्नुअघि कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट पदम गिरीले बोलेका थिए। तर, उनीहरूले बोल्दा नाराबाजी गरेका थिए।