विमान दुर्घटनामा एक यात्रु यसरी भए बच्न सफल


२०८२ जेठ २९ बिहीबार ००:१६ बजे

अहमदाबाद । भारतको अहमदाबादमा भएको एअर इण्डियाको जहाज दुर्घटनामा सिटमा एक जना जीवितै भेटिएका छन्। एएनआईसँग अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले सीट ११ एमा रहेका व्यक्ति जीवित भेटिएको बताएका छन्। विमान दुर्घटनामा एक यात्रु उछिट्टिएर बाँच्न सफल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ४० वर्षका विश्वास कुमार रमेश दुर्घटनामा जीवितै रहेको पाइएको समाचारमा जनाइएको छ।

दुर्घटनामा कम्तिमा पनि २०४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ। तर प्रहरीले कोही पनि जीवित नरहेको अनुमान गरेको थियो । विश्वास कुमार रमेश उक्त फ्लाइटको ११ एक सिटमा बसेर लण्डन जाँदै थिए । दुर्घटनाका क्रममा उनी उछिट्टिएर बाँच्न सफल भएको जनाइएको छ। घाइते उनलाई तत्कालै अस्पताल लगिएको थियो।उनले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘जब म दुर्घटनाबाट बाहिर निस्किएँ मेरो चारैतिर शव छरिएका थिए ।

म डराएँ । म तत्काल उभिएर भागें । मेरो चारैतिर दुर्घटनाग्रस्त विमानका टुक्राहरु थिए।’ उनको आँखामा चोट लागेको छ। घाइतेको उपचार भइरहेको बताइएको छ। अहिलेसम्म मृतकको आधिकारिक संख्या घोषणा गरिएको छैन । एयर इण्डियाको एआई १७१ कल साइन रहेको उक्त जहाजमा २४२ जना यात्रु थिए। विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

टाटा समूहले अहमदाबाद प्लेन दुर्घटनामा परेका प्रत्येक व्यक्तिका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ। घाइते सबैको औषधि खर्च बेहोर्ने जानकारी गराएको छ। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले उक्त जानकारी दिएका हुन्। घाटामा गएको एअर इण्डिया कम्पनी केही वर्षअघि टाटा समूहले खरिद गरेको थियो। अहमदाबाद जहाज दुर्घटनामा ६१ विदेशी नागरिक थिए। यात्रीहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती‚ ७ जना पोर्चुगिज र एक जना क्यानडाली नागरिक थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७