रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु


२०८२ जेठ ३० शुक्रबार १५:२५ बजे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ। 

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर) को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परीक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।   

‘नेपाल विद्युत् प्राधिकरण, परामर्शदाता, प्रवर्द्धक र ठेकेदारका प्राविधिकहरूको संयुक्त टोली परीक्षण कार्यमा खटिएको छ’, उनले भने, ‘परीक्षण सफल भएपछि व्यावसायिक विद्युत् उत्पादन सुरू गर्छौ ।’ सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत गृह निर्माण र बाँध देखि विद्युत गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ। 

रेलेखर्कको विद्युत्गृह, स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ। सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो। पाँच सय पाँच मिटर माथिबाट विद्युत गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७९ मा निर्माण शुरू भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित भएको जनसम्पर्क अधिकृत पाण्डेले बताए। 

रु एक अर्ब २० करोडलागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँ हुँदै बाँध र विद्युत गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ। आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७