बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगंगानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति

बाजुरा । बुढीगंगा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ। गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ।आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब रु १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ।
राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ। शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगंगा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए।
उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का (कुँवर), लगायत छन्। दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, संघ, प्रदेश र संघसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगर प्रमुख थापाले बताए।
एक लाख सहयोग
बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले रु एक लाख राहतस्वरुप सहयोग गरेको छ। बुढीनन्दा नगर प्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई रु एक लाख नगद हस्तान्तरण गरेको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताए। आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको नगर प्रमुख बोहराले बताए। विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए।