राष्ट्र बैंकले आज बजारबाट ८० अर्ब झिक्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि राष्ट्र बैंकले आज (बुधबार) पनि बजारबाट ८० अर्ब रुपैयाँ झिक्ने भएको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले ८० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप बढिरहेको बेलामा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्ने भएको हो । अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्ने हुन्छ भने ६.५ प्रतिशतभन्दा बढी पुगेमा बजारमा पैसा पठाउनुपर्ने हुन्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागिएको हो ।
निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा जनाइएको छ ।