शक्ति केन्द्रको प्रभावमा पुस्तकालयदेखि गुठीसम्मको जग्गा हिनामिना

रौतहट । नेपालीमा एउटा भनाइ छ, ‘शत्रु खोज्न टाढा जानु पर्दैन, घरभित्रै हुन्छन् ।’ त्यो भनाइसँग ठ्याक्कै मेल खाने घटना रौतहटको गौर नगरपालिकामा भेटिएको छ । भाइले आफ्नै दाइको अपहरणदेखि नागरिकतामा नक्कली फोटो टाँसेर जग्गा हिनामिना गर्न खोजेको पाइएको छ । जसकारण दुई दशकदेखि दाजुभाइबीच बोलचाल बन्द छ ।
दधुनाथ, रामदयालप्रसाद, शिवदयाल र रामप्रताप यादव दाजुभाइ हुन् । दधुनाथको निधन भइसकेको छ । रामदयाल नक्खु र शिवदयाल गौर बस्छन् । रामप्रताप भने कहिले गौर, कहिले काठमाडौँ त कहिले कता बस्छन् । दर्जनौं काण्डमा मुछिएका रामप्रतापले आफ्ना दाजु रामदयाललाई अपहरण गर्न खोजेका थिए । काठमाडौँस्थित वन तथा भूसंरक्षण विभागमा कार्यरत उनको कार्यक्षेत्र बर्दिबाससम्म थियो ।
विवाहका लागि गाउँ गएका उनलाई फर्किने क्रममा रामप्रतापले अपहरणको प्रयास गरे । माओवादीको दम्भ देखाउँदै स्थानीयलाई तर्साउँदै हिँड्ने उनले दाइलाई २०६७ असोज १२ गते साँझ ८ बजे अपहरण गर्न खोजे । गौरबाट काठमाडौँ जाँदै गरेको ना४ख ५२६ नम्बरको गोल्डेन क्याब बसलाई साविकको जेठरहिया गाविसस्थित शुकदेव चोकमा झण्डै दुई दर्जनको समूहले घेरा हाल्यो ।
रामप्रतापको आदेश भन्दै उनीहरूले नगद, सिक्री, औंठीलगायत गरगहना खोसेर अपहरण गर्न खोजेका हुन् । त्यहाँबाट बल्लतल्ल उम्किएका रामदयालले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, रौतहटमा जाहेरी दरखास्त दिए । यता, उनले आफ्नै दाइलाई झुक्याएर कीर्ते गरेको विषय अदालतसम्म पुगेको थियो । यसै क्रममा दाइ रामदयाललाई खाली कागजमा हस्ताक्षर गर्न लगाए ।
रामप्रतापले सो हस्ताक्षरको दुरूपयोग गरेर सर्लाहीको मलंगवा नगरपालिका–६ मा उनको नाममा भएको कित्ता नम्बर ६६ को १ रोपनी ९ आना ३ दाम जग्गा अर्कैलाई बेच्न खोजे । रामदयालले सर्लाही जिल्ला अदालतमा कीर्ते मुद्दा दर्ता गरे । न्यायाधीशद्वय शकुन्तला घिमिरे र डालकुमार खड्काको संयुक्त इजलासले ०७८–सीएस–००१८ दर्ता नम्बर भएको सो कीर्ते मुद्दामा रामप्रतापलाई एक लाख ७५ हजार रूपैयाँ धरौटीमा छाडेको हो । त्यति मात्र नभएर उनले दाइको नागरिकतामा अर्का व्यक्तिको फोटो टाँसेर समेत कीर्ते गरेका थिए । उनीविरुद्ध अदालतमा लेनदेनलगायत कैयौं मुद्दा परेको छ ।
श्रीमती हत्याको आरोप
सोना भगतका छोरा रामप्रतापकी जेठी श्रीमती सिन्धुको मृत्यु भइसकेको छ । उनलाई रामप्रतापले सन्तान नजन्माएको भन्दै देखिनसहने दाजु शिवदयाल बताउँछन् । घरमा बस्न नदिएपछि सहयोग माग्दै विभिन्न निकायमा निवेदन दिएकी थिइन् । तर, उनको पहुँचको अगाडि सिन्धुको केही पनि लागेन । त्यसपछि उनी कहाँ गइन् ? कसैलाई थाहा छैन । शिवदयालका अनुसार सिन्धुबाट रामप्रतापको सन्तान छैनन् ।
‘दुलहीलाई भाइले बस्नै दिएन। सहयोग माग्दै दुलहीले विभिन्न निकाय गुहारिन्। तर, कतैबाट केही लागेन । त्यसपछि बेपत्ता उनको कुनै अत्तोपत्तो भएन’, उनले भने । छठको दिन सिन्धु भारतमा मरिसकेको खबर आयो। उनले रामप्रतापलाई सो कुरा सुनाए। तर, रामप्रतापले कुनै चासो देखाएनन्। उनले सिन्धुको काजकिरिया पनि गरेका छैनन्। श्रीमतीको काजकिरिया नगरेपछि छरछिमेकले बहिष्कार गरेका छन्।
विवाह, ब्रतबन्धलगायत कुनै पनि सामाजिक कार्यक्रममा छिमेकीले बोलाउँदैनन् । दाजुहरूले समेत बोलचाल बन्द गरेका छन्। उनीसँग नबोलेको वर्षौं भइसकेको शिवदयाल बताउँछन्। भन्छन्, ‘वर्ष त याद भएन तर भदौको महिना थियो । दुलहीको भारतमा मृत्यु भएको खबर आयो। मैले रामप्रतापलाई भनेँ, उसले केही थाहै नभए जस्तो गर्यो । अहिलेसम्म किरिया पनि गरेको छैन ।’
श्रीमतीमाथि हिंसा गर्ने उनले नै सिन्धुको हत्या गरेको हुनसक्ने छरछिमेकको आशंका छ । तर, सिन्धुको परिवार र सन्तान नभएकाले उनको खोजीका लागि कसैले उजुरी दिएनन् । रामप्रतापले सिन्धुकै मामाको छोरी भारतकी रिना रायसँग विवाह गरेका छन् । उनीहरूको एक छोरा र एक छोरी छन् ।
पुस्तकालयदेखि गुठीसम्मको जग्गा हिनामिना
वडा नम्बर ५, ब्रह्मस्थान नजिकै पुस्तकालय छ । राणाकालमा बनेको सो ऐतिहासिक पुस्तकालयलाई पहिले शारदा पुस्तकालय भनिन्थ्यो । पछि नाम परिवर्तन गरेर कलाकुञ्ज बनाइएको हो । सो पुस्तकालयको अध्यक्ष रहेका उनले पुस्तकालयकै जग्गा कब्जा गर्न खोजेका हुन् । वि.सं.२००४ अर्थात् ७८ वर्षअगाडि बनेको सो पुस्तकालयको नाममा भएको धेरै स्थानको जग्गा रामप्रतापले बेचिसकेका छन् ।
सर्लाहीको जग्गा समेत बेच्न खोजेको भन्दै नगरपालिकामा २०७८ मंसिर १८ गते नगर प्रमुख शम्भु साहलाई सम्बोधन गरेर एउटा निवेदन पर्यो । सो निवेदन दिने पुस्तकालयकै संयोजक जगन्नाथप्रसाद केशरी र सदस्य शान्तिप्रसाद सुवेदी थिए । रामप्रतापले गैरकानुनी रूपमा समिति गठन गरी जग्गा आफूलाई दिन भन्दै भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीमा निवेदन दिएको उनीहरूले जानकारी गराएका छन् ।
उनले जग्गा हिनामिना गर्न लागेको भेटेपछि नगरपालिकाले त्यसलाई रोक्न आग्रह गर्दै भूमिसुधार तथा मालपोत कार्यालय, मलंगवा र गौरलाई पत्र लेख्यो । त्योसँगै उनले अन्य धेरै स्थानको सरकारी र गुठीको जग्गा पनि गलत तरिकाले आफ्नो नाममा लगेका छन् । उनले वडा नम्बर २ स्थित रानी सती मन्दिरको नाममा दर्ता रहेको जग्गा कथित समिति गठन गरेर मोहीको नाममा दर्ता गरी बेचबिखन गर्न खोजेको भन्दै ०६३ असार २६ गते पनि नगरपालिकामा उजुरी परेको थियो ।
जयनगर, लक्ष्मीनारायणलगायत अन्य धेरै स्थानको सरकारी जग्गा जालसाजी गरेर आफ्नो नाममा ल्याएको दाइ शिवदयाल बताउँछन् । ‘रामप्रतापले धेरै नराम्रा काम गरेको छ । पुस्तकालयको नाममा धेरै जिल्लामा भएको जग्गा गलत तरिकाले आफ्नो नाममा लगेको छ । व्यक्तिकै जग्गा पनि जालसाजी गरेर आफ्नो बनाएको छ’, उनले भने।पुस्तकालयको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न नगरपालिकाले छानबिन समिति गठन गर्दैछ । मेयर साहले अबको एकाध दिनमै छानबिन समिति गठन हुने जानकारी दिए ।
उनले भने, ‘अस्ति नै समिति गठन गर्ने तयारी गरेका थियौं । तर, हुन सकेन। अबको एकाध दिनमा गठन गर्छौं।’ यता, नगरपालिकाले उनीबाट अध्यक्षको जिम्मेवारी खोसेको छ। ५ नम्बरका वडाध्यक्ष शिवशंकर यादवको संयोजकत्वमा पुस्तकालय सञ्चालनका लागि पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको । आफूलाई निकालिएपछि उनी उच्च अदालत, जनकपुर अस्थायी इजलास वीरगञ्ज पुगेका थिए।
अदालतले चुनाव गराउने जिम्मा सुम्पियो । यद्यपि, उनले अहिलेसम्म पनि चुनाव गराएका छैनन् । ‘उनी अध्यक्ष भएदेखि चुनाव गराइएको छैन । जहिल्यै बहाना मात्र बनाउँछन् । चुनाव गराउँछु भनेका छन् तर गराउँछन् कि गराउँदैनन् ? टुंगो छैन’, स्रोतले भन्यो ।
भाडामा श्रीमान–श्रीमतीको रजाइँ
पुस्तकालयको भवन भत्किएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र प्रमुख सचेतक सरला यादवको पहलमा बजेटको व्यवस्थापन भयो । रामप्रतापले श्रीमती रिनालाई उपभोक्ता समितिको अध्यक्ष बनाइदिए । जापान सरकार र स्थानीय सरकार समेतको सहयोगमा चार करोडमा पुस्तकालयको नयाँ भवन बन्यो। शुरुवातमा एक तलाको भवन निर्माण गर्ने अनि थप्दै जाने सम्झौता भएको थियो ।
तर, स्थानीय क्रसर उद्योगी सन्तोषकुमार केशरीसँग मिलेर चारै तला ठड्याइयो । त्यहाँ के–कति सामान प्रयोग गरियो ? यसको विवरण अहिलेसम्म पनि नगरपालिकामा बुझाएका छैनन् । भवन निर्माणमा ठूलो घोटाला भएको हुनसक्ने अनुमान स्थानीयको छ । यता, उनले त्यस भवनबाट उठेको भाडा आफैंले प्रयोग गर्दै आएपछि नगरपालिकाले सटरमा ताला लगाइदिएको छ ।
स्थानीय सरकारको खातामा जानुपर्ने भाडा उनले उठाएर खान थालेपछि नगरपालिकाले पुस्तकालयमा ‘ईन्ट्री’ गर्नै रोक लगाएको छ । मेयर साह भन्छन्, ‘स्थानीय पालिकासहितको लगानीमा भवन बनाउने अनि भाडा उठाएर खाने चाहिँ ऊ ? त्यसैले हामीले रोक लगाइदियौं ।’
अख्तियार समेत प्रभावमा
आफैंले घुस खुवाएर कर्मचारीलाई अख्तियारको मुखमा पुर्याउने उनको विगतमा आयोगसँग राम्रै तालमेल थियो । हेल्पलाइन नेपाल नामक आफ्नो एनजिओको ठेक्का सम्झौता नविकरणमा साथ नदिने तत्कालीन एलडिओ वसन्त भण्डारीको भान्छामा ५० हजारको मुठो राखेर स्टिङ्ग अपरेसन गरी जागिर खाइदिएदेखि नै उनले लगातार अख्तियारको नाम बिक्री गर्दै आएका छन् । अख्तियारका टेलिफोन अपरेटर रौतहटकै चालिसे थरका सुब्बालाई भेटेर फर्कन्छन् र प्रमुख आयुक्त प्रेम राईलाई भेटेको धाक लगाउँछन् । मधेशका सोझा जनतालाई सुब्बा र आयुक्त बराबर ।
उनले गौरमा दुई जनालाई त्यसरी फसाइसकेका छन् । उनको फन्दामा पर्नेमा एक जना जनस्वास्थ्य अधिकृत पनि छन् । निकट सम्बन्धका कारण उनको सबै गैरकानुनी कामलाई अख्तियारले ‘प्रचण्ड, माधव, प्रभु शाह, बाबुराम भट्टराई’ को यस्तै धाकधक्कु लगाउने बानीका कारण अनदेखा गरेको स्रोतको जिकिर छ ।
पहुँचको दुरूपयोग
चाप्लुसी गर्न माहिर उनको राजनीतिक दलहरूसँग उठ्बस छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग सम्बन्ध निकै घनिष्ट बनाएर फाइदा उठाए । पूर्वमन्त्री समेत रहेका सत्यनारायण भगत र उनकी श्रीमती रिनाको चिनजान धेरै पुरानो हो। गौर हत्याकाण्डको क्रममा सत्यनारायण उनकै घरमा लुकेका थिए। उनको घरमा सत्यनारायण लुकेको थाहा पाएपछि आन्दोलनकारीहरूले तोडफोड गरिदिए।
वडा सदस्य उठ्ने तागत नभए पनि उनीहरूकै आडमा रिनाले मेयरमा उम्मेदवारी दिने घोषणा समेत गरेकी थिइन्। निकै फूर्तिफार्ती गरे पनि कुनै पार्टीले उनलाई टिकट दिएन । श्रीमान–श्रीमतीले नै उच्च पदस्थसँगको सम्बन्धको दम्भ देखाउँदै स्थानीयवासीलाई धम्क्याउने, तर्साउने गर्दै आएका छन् ।