गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी र नैतिकवान : कांग्रेस सांसद शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सांसद डा. सुनिल शर्माले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नै बुद्धिमानी हुने बताएका छन्। संसद् भवन बाहिर आज (मंगलबार) सांसद शर्माले संसद्सम्म विवाद पुगिसकेपछि गृहमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए।
गृहमन्त्री लेखकलाई विवाद उत्पन्न भइसकेपछि राजीनामा दिएर नैतिकता देखाउन शर्माले सुझाव दिए। ‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग होइन, सुझाव हो। हाम्रो सुझाव, सल्लाह हो कि यति ठूलो विवाद भइसकेपछि नैतिकताका आधारमा राजीनामा दिएर एक महिना पछाडि अनुसन्धान सकेर आए भइहाल्छ नि भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने।
गृहमन्त्री लेखकमाथि प्रश्न उठाएर विपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका थिए । बजेट प्रस्तुत गर्ने दिन जेठ १५ अघि नै गृहमन्त्री लेखकले राजीनामा गर्नु बुद्धिमानी हुने शर्माको भनाइ थियो। ‘पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ। यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ। स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ। मलाई लाग्छ बेलुकासम्म केही आउला। नआए दुई-चार दिनभित्र आउला किनभने १५ गते बजेट भाषण छ। बुद्धिमानी र नैतिकवान कुरा चाहिँ राजीनामा दिनु नै हुन्छ,’ उनले भने ।
राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयं नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान र बुद्धिमानी हुने शर्माको भनाइ थियो ।