भूपाल बराल सचिवमा बढुवा

काठमाडौं । नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले बराललाई बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।
यसअघि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो ।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि बढुवा समितिले उक्त विशिष्ट श्रेणीको उक्त पदका लागि बरालका साथै सहसचिवहरु डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीलाई पनि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीमध्ये वरीयतामा सबैभन्दा अगाडि रहेका बराललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।