शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा


२०८२ जेठ १२ सोमबार २३:४७ बजे

काठमाडौं । काठमाडौंको तीनकुने गत चैत १५ गते आयोजित राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा भएका छन् ।

प्रहरीले उनलाई आइतबार साँझ रिहा गरेको हो । मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय अनिल बस्नेत (अनिल बाबा) चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी रिहा भएपछि राजावादीहरूले खुशी व्यक्त गरेका छन् । राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान गरेर उनीहरुलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै मुद्दा नचलाउने राय सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ । १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ । ‘संलग्नता अनुसार फरक–फरक मुद्दा चलाइएको छ, दुर्गा प्रसाईंको हकमा कर्तव्य ज्यान समेत छ’, एक अधिकारीले भने, ‘अधिकांशलाई म्याद थपिए अनुसारकै कसुरमा मुद्दा अघि बढ्दैछ।’

प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो । त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए । यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन् । १५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७