‘फोहरबाट मोहर’ कमाउँदै स्नातक युवा


२०८२ जेठ १२ सोमबार २२:४४ बजे

पाल्पा । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन्।

यहाँको तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्षयता फोहरमा मोहर खोज्दै छन्। यहाँका सुशील, उमेश  र टार्जन भण्डारीले  तानसेन–७  लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहरबाट मोहर खोज्दै आएका हुन्।

तानसेन बजारबाट दैनिक निस्कने फोहरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तुहरु संकलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् ।

तीनै दाजुभाइले स्नातकसम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दैछन्, उमेशले विएस्सी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् र टार्जनले विविए पूरा गरिसकेका छन् । तर उनीहरुमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहरमुक्त सहर बनाउने ।

संकलित कवाडी वस्तुहरुको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौँ, वीरगञ्जलगायत ठूला सहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरु भने आफै रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी संकलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन् । कवाडी संकलनका लागि उनीहरुले छ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् । 

सुरुमा पढेका युवाहरुले फोहर संकलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन सम्झदै भन्छन्, ‘सुरुवातमा  हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका  युवाले  कवाडी संकलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्‍यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर संकलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।’ 

पहिले–पहिले फोहर संकलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी संकलन हुन्छ । संकलन भएका फोहरलाई त्यसको प्रकारका आधारमा छुट्टाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगपालिकालाई कर बुझाउँदै आएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७