ओलीको निर्देशन : राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने चेतावनी दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतंक मच्चाउनेलाई कुनै स्थान नदिइने चेतावनी दिए । ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने ।
हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’, उनले प्रश्न गरे । प्रधानमन्त्री ओलीले राजावादीहरू कुनै उद्देश्यको लागि नभई केबल साना स्वार्थका लागि लडिरहेका आरोप लगाए । ‘सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ती देखाएका छन्, एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता–कता जान्छन्’, उनले भने ।
एमालेका नेता–कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यहीअनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिने बित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए । ‘म साथीहरूलाई भन्न चाहन्छु–निर्देशन पछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसले थाम्छ ? कसले रोक्छ ? निर्देशन पछि आउँछ, तपाईहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्दछ, कसरी कुन संस्था अगाडि लाग्छ त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौं’, ओलीले भने ।