गृहमन्त्रीको बचाउमा गुरु : आरोपबाट बच्न कर्मचारीले लेखकमाथि दोष थुपारे

संखुवासभा । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको चौतर्फी राजीनामा माग बढिरहेका बेला नेपाली कांग्रेसका नेता गुुरु घिमिरे भने उनको बचाउमा देखिएका छन् । कांग्रेसकै शीर्ष नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएर अनुुसन्धानलाई सघाउनु पर्ने बताइरहेका बेला नेता घिमिरेले भने आरोपबाट बच्न कर्मचारीले गृहमन्त्री रमेश लेखक माथि दोष थुपारेको बताएका छन् ।
उनले कांग्रेसका नेताहरु बद्नियत राखेर काम नगर्ने दाबी समेत गरे । संखुवासभाको खाँदबारीमा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई जोडेर कांग्रेसको बदनाम गर्न खोजिएको बताएका छन् । पछिल्लो समय सरकारमा गएका कांग्रेसका मन्त्रीहरु अनावश्यक विवादमा मुछिएको उनले बताएका छन् ।
कम्युनिष्ट पार्टीको अधिनमा देशको ठूलो पाटी कांग्रेस बसेको उनको भनाइ थियो । उनले सुशासन, संविधान संशोधन लगायतका विषयलाई अघि बढाउन कांग्रेसले यो बाटो रोजेको बताए । अहिलेको कुनै पनि मन्त्रीले जनताले देख्ने गरी काम गर्न नसकेको उनको भनाइ छ । कोशी प्रदेशका विभिन्न जिल्ला दौडाहमा निस्केका घिमिरेले कांग्रेस परम्परागत तरिकाले चलेको उल्लेख गरे ।