चीनमा नेपाली संस्कृति प्रदर्शन

–कमलकुमार बस्नेत
चीन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ सांगीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ। एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गए राति सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । नेपालकोतर्फबाट देविका वन्धन, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कला समूहले कलाकारहरुले विशेष सांगीतिक प्रस्तुति दिएका भने चिनियाँ कलाकारहरुले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए ।
एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवद्र्धनको सेतु भएको बताइन् । उनले नेपालको पहिचान र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने हाम्रो उद्देश्य यही मञ्चबाट साकार हुँदैछ भन्ने आफूले महसुस गरिरहेको उल्लेख गरिन् । ‘नेपाल र चीनका स्थानीय तहबीचको सहकार्य र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुद बनाउने हाम्रो यो प्रयास सामाजिक परिवर्तनतर्फको एक सकारात्मक पाइला हो’, उनले भनिन् ।
कार्यक्रममा सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले दुई देशबीचको सम्बन्ध लामो समयदेखि रही आएको उल्लेख गर्दै अरिनको र भृकुटीले नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन इतिहासमा पुर्याएको योगदानको चर्चा गरे । ‘कार्यक्रममा हाम्रो जनताको भावनाका आकाङ्क्षाको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो । नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् । प्राचीन बौद्ध विहारहरुदेखि लिएर आजका पूर्वाधार र पर्यटन साझेदारीसम्म हाम्रो मित्रता समयसँगै अझ बलियो, गहिरो र अर्थपूर्ण बन्दै गइरहेको छ’, उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङले दुवै देशबीचको यस कार्यक्रमले नागरिकस्तरमा पनि सम्बन्ध विस्तारमा थय सहयोग पुगेको बताए । त्यस अवसरमा गुइलिन सांस्कृतिक स्वयंसेवक संघका अध्यक्ष हुन् । लिनबिन, गुइलिनको संयुक्त मोर्चा कार्य विभागकी उपनिर्देशक झाङ गाओलियन, गुइलिन सिटी ग्लोरी कज प्रमोशन एशोसिएसनका उपाध्यक्षः याङ युनवु, गुइलिन फुक्सी एसेट म्यानेजमेन्टका अध्यक्ष चेन होङसियान र लिजियाङ उद्धार केन्द्रका कप्तान मो गुआङफुलगायतको सहभागिता थियो ।
सगरमाथा आरोही मिड्ना डेम्ब शेर्पाले हिमाल आरोहणको चर्चा गर्दै हिमाल आरोहणमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिए । उनले विश्वका आठ हजारभन्दा अग्ला विभिन्न हिमालको ३३ पटक सफल आरोहण गरेका छन् । कार्यक्रममा गायिका देविका वन्दनालाई एमरजिन सिङ्गर अवार्ड र गायक कमल खत्रीलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको थियो ।
एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले यस प्रकारका कार्यक्रमले देश नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, मित्रता र पर्यटन प्रवर्द्धनका लागि समर्पित रहेको बताए । ‘हाम्रो देशको संगीत सम्पदा, कला र संस्कृतिले यस अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिरहेका छौँ, जसले दुवै देशबीचको आपसी समझदारीले अझ प्रगाढ बनाउने विश्वास लिएको छ’, उनले भने । रासस