गृहमन्त्री लेखकको बचाउमा सिटौला : राजीनामा दिए गलत नजिर बस्छ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका छन् ।
आज (आइतबार) विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्दा गलत नजिर बस्ने जिकिर गरे । यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकाले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनु पर्ने बताए ।
हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्ने तर्क गरे । राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए । २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैँको आसपासमा तयारी गर्नुपर्ने उनको जोड छ ।