पूर्व गोर्खा सूर्य नेम्वाङ ठगी आरोपमा दोषी ठहर

काठमाडौं । बेलायत बस्दै आएका भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी ठहरिएका छन्।काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले नेम्वाङलाई हिजो एक वर्ष कैद र जाहेरवालाहरुको ठगी तथा नोक्सान भएको बिगोवापत ३२ लाख ५७ हजार ४७० रुपैयाँ फिर्ता दिन आदेश गरेको छ ।
नेम्वाङले गैरकानूनी रुपमा आफूलाई वकिल हुँ भन्दै बेलायतमा आवासीय अधिकार दिलाइदिने प्रलोभनमा मोटो रकम लिएर काम नगरेपछि पीडितहरु दिलप्रसाद लिम्बू, एलिसा थाम्सुहाङ र रमिला राईले जाहेरी दिएका थिए । त्यसपछि नेपाल सरकार वादी रहेको मुद्दा २०८० फागुन १ गते काठमाडौं जिल्ला अदालतमा दर्ता नम्बर ०८०–सी १–८१८९ दर्ता भएको थियो ।
अदालतले प्रतिवादी नेम्वाङले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ बमोजिमको कसुर गरेको ठहर गर्दै सजाय तोकेको हो । ब्रिटिश आर्मी भए पनि गोर्खा सैनिकका सन्तानलाई बेलायत लैजाने कार्यमा नेपाल सरकारबाट कुनै अनुमति नलिएको अवस्थामा त्यस्ता सैनिक सन्तानलाई बेलायतमै बसोबास गर्ने गरी कानूनी प्रक्रिया मिलाउने प्रलोभनमा रकम उठाएको बताइएछ ।
भूपू गोर्खा आर्मीका सन्तान जाहेरवाला दिलप्रसाद लिम्बू र निजका दाजुभाइ एवम् दिदी गरेर चार जना, जाहेरवाला एलिसा थाम्सुहाङ र उनको दिदी दुई जना र जाहेरवाला रमिला राई र निजको दुई जना दिदी समेतलाई बेलायतमा काम गर्ने र बसोबासको व्यवस्था मिलाइदिने भनेर झुठो आश्वासनमा दिलप्रसादबाट २१ लाख २७ हजार ३००, एलिसाबाट चार लाख ७६ हजार र रमिलाबाट छ लाख ५४ हजार १७० रुपैयाँ लिइएको थियो ।
तर, जाहेरवालाहरुलाई तत्काल बेलायत नपठाएको र उक्त बिगो रकम फिर्ता नगरी ठगेर वारदात घटाई कानून विपरित कार्य गरेको देखिँदा निजलाई एक वर्ष कैद र ठगी गरी खाएको बिगो रकम मुलुकी अपराध संहिता २०७४ को दफा २५४ बमोजिम उनीबाट जाहेरवालाहरुले अलग–अलग पाउने ठहर भएको छ ।
नेम्वाङ नेपाल आउँदा २०८० माघ १५ देखि फागुन १ गतेसम्म थुनामा परेका थिए । ०८० चैत्र २ गतेको अदालतको आदेशअनुसार माग भएको धरौटी रकम पाँच लाख रुपैयाँ पनि उनले तारिख गुजारेपछि जफत भएको थियो । धरौटी बुझाएको पाँच लाख रुपैयाँबाट जरिवाना १० हजार कट्टा गरी बाँकी धरौटी रकम जफत गरी अदालतको राजश्वमा आम्दानी बाँध्न आदेश भएको छ ।
जाहेरवाला दिलप्रसाद लिम्बूले सूर्यकुमार नेम्वाङले पटक–पटक गरी २१ लाख २७ हजार तीन सय रुपैयाँ लिई कुनै पनि कानूनी प्रक्रिया नगरेको र निजलाई सम्पर्क गर्दा अब काम गर्ने भए दोब्बर रकम लाग्छ भन्दै बेलायतमा आवासीय भिसाका लागि उक्त रकम झुक्याएर लिएको बयान दिएका थिए ।
जाहेरवाला एलिसा थाम्सुहाङका अनुसार, नेम्वाङले दिदीबहिनीलाई युके पठाइदिने भनी बेलायत सरकारले आमालाई प्रदान गर्ने रकम (बेनिफिट) का लागि आफ्नै बैंक खाता सञ्चालन गरी चार वर्षदेखि आमाको सम्पूर्ण रकम २४ हजार पाउण्ड अर्थात नेपाली ४० लाख ६० हजार ८० रुपैयाँ लिएका थिए ।
उनले युकेमा बसेर नेपाल सरकारसंग अख्तियारी समेत नलिई आफूले गर्न नसक्ने काम समेत गर्छु भनी झुक्याई शुरुमा भिसा प्रक्रियाका लागि लाग्ने रकम भनी चार लाख ७६ हजार लिएको र कुनै प्रक्रिया नगरेको हुँदा उक्त रकम माग्दा उल्टै धम्क्याएको बयान एलिसाले दिएकी थिइन् । रमिला राईले दिएको जाहेरी दरखास्तअनुसार चार वर्ष पहिले उनले आफन्तमार्फत चिनजान भएपछि नेम्वाङसँग सामाजिक सञ्जालमार्फत् सम्पर्क भई कुराकानी गरेकी हुन् ।
यसै सिलसिलामा नेम्वाङले आफू बेलायतमा वकिल रहेको र आवासीय भिसा (आइएलआर) मा नेपाली नागरिकहरुलाई बेलायत बोलाई राम्रो काम लगाइदिने झुठो आश्वासन दिएको उनको दाबी छ । कुराकानी अघि बढ्दै गएपछि नेम्वाङले बेलायत आउँदा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया नौ महिनाभित्र गरिदिन्छु र त्यहाँ गएपछि राम्रो काम समेत पाइने, भनेबमोजिम काम नपाए सम्पूर्ण रकम तत्काल फिर्ता गर्ने प्रलोभनमा फकाइ फुल्याइ आवश्यक कागजातसहित नेपालमा रहेको आफ्नो बैंक खातामा छ लाख ५४ हजार १७० रुपैयाँ जम्मा गरेपछि आलटाल गरेर रकम अपचलन गरेको जाहेरी रमिलाले दिएकी थिइन् ।
जिल्ला अदालतको फैसलापछि अरु पीडितलाई पनि न्यायका लागि अब कानूनी उपचारको निम्ति बाटो खुलेको छ। उनले नेपालमा गार्डियन नामक एक कन्सल्टेन्सी खोलेर गैर कानूनी रुपमा भूतपूर्व गोर्खाका सन्तानलाई भ्रममा पारी रकम असुल्ने काम गरिरहेको बताइन्छ । यसअघि अनुसन्धानका क्रममा उनी लण्डनमा समेत आठ दिन प्रहरी हिरासतमा थुनिएको बताइन्छ । नेपाल भाग्ने क्रममा बेलायत प्रहरीले लण्डनको हिथ्रो विमानस्थलमा राहदानी जफत गरेर पक्रेको थियो । आफूलाई नेपाली कांग्रेसको नेता भन्दै आएका उनीविरुद्ध परेको अकुत सम्पत्तिको उजुरीमाथि सम्पत्ति शुद्धीकरण आयोगले अनुसन्धान थालेको बुझिएको छ ।