रवि र छविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ । रविको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको छ । रविका वकिल र सरकारी पक्षको बहस हुन बाँकी छ । निवेदन बिहीबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको थियो । इजलासमा रवि र छविको मात्र निवेदन परेको थियो ।
बिहीबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा दुई जनाकै पक्षका वकिलहरूले बहस गरेका छन् । तर बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । गत मंगलबारदेखि नै रविका वकिलहरूले बहस गरेका थिए । मंगलबार रवि पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गरेका थिए । अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए । तर उनको उक्त दिन नटुंगिएपछि बिहीबार टुंग्याएका हुन् ।
त्यसपछि छविलाल जोशी पक्षका वकिलहरूले बहस सुरू गरेका थिए । उनको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, अधिवक्ता अपूर्व खतिवडाले बहस गरे । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले शुक्रबारको इजलासमा बहस गर्ने तयारी गरेका छन् । यस्तै सरकारी वकिलको तर्फबाट पाँच जनाले बहस गरेका थिए । नायब महान्यायाधिवक्ता लोकराज पराजुली, गोबिन्द खनाल, दिनेश घिमिरे लगायतले बहस गरेका थिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए । त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो । उच्च अदालतको आदेशसँगै चैत २२ गते नै साँझ काठमाडौंस्थित हात्तीगौडा निवासबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी रूपन्देही पुर्याएर कारागार चलान गरेको थियो ।