हुरीले ढलेको रुख घरमा बजारिँदा बुहारीको मुत्यु, सासु गम्भीर घाइते

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमाथि रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासु घाइते भएकी छन्। बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण ढलेको रुख आलिताल–६ दोबाटाका रतन कामीको घरमाथि बजारिँदा उनकी श्रीमती २७ वर्षीया श्रीमती रविना कामीको घटनास्थलमै मृत्यु भएको हो। मृतककी सासु राधा कामी घाइते भएको प्रहरीले जनाएको छ।
घर माथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो । मुत्यु भएकी रविना कोठामै थिइन् । अचानक घरमाथि रुख बजारिँदा उनको मृत्यु भएको स्थानीय राम कुँवरले जनाएका छन् । स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पुर्याएका छन् । मृतक कामीका एक छोरा र एक छोरी छन्। कामीको घर पूर्णरूपमा क्षति भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।