त्रिभुवन विमानस्थलको अध्यागमनमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा हानेको छ । त्यहाँबाट कागजपत्र र केही कर्मचारीलाई नियन्त्रणमा समेत लिइएको अख्तियार उच्च स्रोतले जनाएको छ । ‘अनियमितताको उजुरी परेपछि त्यहाँ छापा हानिएको हो,’ स्रोतले भन्यो, ‘कागजपत्र र केही कर्मचारीलाई ल्याएर बयान गराउने काम शुरू हुँदैछ ।’
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी अन्जन न्यौपानेले आफू बाहिर मिटिङमा रहेकाले केही थाहा नभएको प्रतिक्रिया दिए । ‘म बाहिर मिटिङमा थिएँ, मलाई यसबारे केही जानकारी छैन,’ उनले भने ।