नव नियुक्त गभर्नर भन्छन्– मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउने पहल पहिलो प्राथमिकतामा हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् । नव नियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
गर्भनर पौडेलले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको सूक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताए । उनले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए । ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उनले भने ।
पौडेलले वित्तीय क्षेत्रको स्थिरता आफ्नो प्राथमिकतामा रहने बताएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १८ औं गभर्नरमा नियुक्त गरेपछि पौडेलले राष्ट्र बैंकलाई सही दिशामा अगाडि बढाउनका लागि सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने बताएका हुन् । धेरै नियम कानून नल्याई सुपरीवेक्षणमा बढी केन्द्रित हुने उनको भनाइ छ ।
‘मेरो मुख्य लक्ष्य नेपाल राष्ट्र बैंकलाई सही दिशामा अघि बढाउनु हो । यसका लागि म सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउन र वित्तीय क्षेत्रको स्थिरता सुनिश्चित गर्न प्राथमिकता दिनेछु,’ पौडेलले भने । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका थिए ।