चेक अनादर मुद्दामा खुश्बु ओलीलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ । यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् ।
न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो । राप्रपा नेता ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनीविरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो । मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।
उनीविरुद्ध सप्तरीको राजविराज नगरपालिका–८ का गोपाल कटुवालले चेक अनादर मुद्दा दायर गरेका थिए। कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ सापटी दिएको तर ओलीले २०७१ फागुन ६ गते सापटी फिर्ता माग्दा खातामा पर्याप्त रकम नभएको चेक दिएको आरोप लगाएका थिए ।