हुम्लाको हिमपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा हिमपहिरोबाट विस्थापितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले विस्थापितलाई त्रिपाल, खाद्यान्नलगायत राहत सामग्री तत्काल उपलब्ध गराउन निर्णय गरेको छ ।
मन्त्री लेखकले हेलिकप्टरमार्फत राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली पठाउन निर्देशन गरेका छन्। उनले विस्थापितको खाने–बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न निर्देशन दिए। राहत र अध्ययनका लागि कर्णाली प्रदेश सरकारसँग समन्वय गर्न मातहतका निकायलाई उनले निर्देशन दिए ।
हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६, तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय ३२ जना विस्थापित भएका छन् । बैठकमा मन्त्री लेखकले प्रि–मनसुनअघि विपद् प्रतिकार्यका लागि तयारी र समन्वय थाल्न जोड दिए । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सातै प्रदेश र ७७ जिल्लाका सुरक्षा समितिसँग छलफल गरी तयारी गर्न पनि निर्देशन दिएका छन् ।
विपद् प्रतिकार्यमा निजी संघ–संस्थाको स्रोत–साधन र क्षमता उपयोग गर्न समन्वय र सहकार्यको व्यवस्था मिलाउन पनि उनको अनुरोध थियो। बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको उल्लेख गरे। बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला निकायका उच्च अधिकारी सहभागी थिए।