माओवादी अभियान सुदूरपश्चिमबाट कर्णाली प्रवेश

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज (आइतबार) कर्णाली प्रवेश गरेको छ। सुदूरपश्चिम प्रदेशको अभियान सकेर अध्यक्ष प्रचण्डसहितका नेताका टोली आइतबार बिहान कर्णाली प्रदेशमा प्रवेश गरेको टोलीमै सहभागी माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिएका छन्।
गएको शुक्रबार बैतडीको पाटनमा माओवादीले यो अभियानको उद्घाटन गरेको थियो। आज बिहान कम्युनिष्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत रहेका पोखरेल नेतृत्वको टोलीले कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर खाम नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई राकममा भव्य स्वागत गरेका छन्। यस क्रममा अध्यक्ष प्रचण्डले अभियान सफलतापूर्वक सम्पन्न गरेकोमा सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद दिएका छन् । अभियान आज राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेको पोखरेलले बताए।