पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित

पोखरा । सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित भएको छ ।
उच्च अदातलले पेसीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई पत्र लेखेको थियो । तर, कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको उल्लेख गरेको थियो । सोही पत्रका आधारमा उच्च अदालतले आजको पेसी स्थगित गरेको हो । उच्च अदालतका मुख्य न्यायाधिश रत्नबहादुर बागचन्द र न्यायाधिश मिलन राईको संयुक्त इजलाशले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न भने आदेश दिएको छ ।
उक्त पत्रमा पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको वा अन्य कारण हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदन सहितको जानकारी गराउन समेत अदालतले आदेश दिएको छ । योसँगै अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोग पत्रसहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोग पत्रसहितको सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ ।