यो सरकार निरंकुश र मण्डलेकरण भयो : राप्रपा
‘कुर्सीमा सांसद निदाएको, मन्त्रीहरू भिडियो गेम खेलिरहेको देख्दा सभामुखलाई कस्तो लाग्छ होला ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले वर्तमान सरकार निरंकुश र मण्डलेकरण भइरहेको टिप्पणी गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाइन् ।
‘यो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण भइरहेको छ । गृह प्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ’, उनले भनिन्। उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ।
कार्कीले संसद ढाँट्ने थलो भएको टिप्पणी समेत गरेकी छन्। ‘संसदभित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ। यो जस्तो नीरस ठाउँ त केही रहेनछ। बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ’, उनले भनिन्। उनले सदनको कुर्सीमा सांसद निदाएको, मन्त्रीहरू भिडियो गेम खेलिरहेको देख्दा सभामुखलाई कस्तो लाग्छ होला भनी जिज्ञासा राखिन्। आफूलाई भने माया लाग्ने उनको भनाइ छ।