लोकतन्त्रको विकल्प हुन सक्दैन : महासचिव पोखरेल

कैलाली । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । एमालेसम्बद्ध भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको आज टीकापुरमा उद्घाटन गर्दै उनले जनताको अधिकार स्थापना र जनचाहनाअनुसार विकास गर्न लोकतन्त्रको विकल्प नरहेको बताए।
महासचिव पोखरेलले हाल केही व्यक्तिले लोकतन्त्रको विकल्प राजतन्त्र भनेर चर्चा गरिरहेकामा त्यो परिवर्तित समय र चेतनाको आवाज नभएको जिकिर गरे । ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । हाल जति पनि परिवर्तन भएको छ, त्यसको प्रमुख जग लोकतन्त्र नै हो’, उनको भनाई थियो, ‘राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाउन थालेका छन् । अब देश विकासका लागि स्थिरताको खाँचो छ ।’
महासचिव पोखरेलले राजनीतिक स्थिरता भएका देशले नै छिटो प्रगति हासिल गरेको उदाहरण पेस गर्दै अगाडि भने, ‘यहाँ स्थिर सरकार बन्न सकेको छैन । पाँच वर्षमा पाँच वटाभन्दा बढी सरकार बन्छन् । सयौं मन्त्री हुन्छन् । हामीकहाँ पनि पाँच वर्ष एउटै पार्टी र नेतृत्वमा सरकार बन्नेको भए समृद्धिका लागि देखेका सपना पूरा गर्न सहज हुन्थ्यो ।’
हाल संसद्का दुई ठूला पार्टी मिलेर स्थिरताको प्रयास भएको र यो सहमतिअनुसार नै अगाडि बढ्ने उनको भनाइ छ।
देशमा रहेका सम्पूर्ण भूमिविहीनलाई जग्गाको मालिक बनाउने काम वर्तमान सरकारले पूरा गर्ने भन्दै महासचिव पोखरेलले दुई वर्षभित्र सबै भूमिसम्बन्धी समस्या समाधान गर्ने गरी भूमि आयोगले काम गरिरहेको उल्लेख गरे। भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशका विभिन्न ६४ जिल्लाबाट छ सय प्रतिनिधिको सहभागिता रहेको छ।