कान्छी श्रीमतीको हत्या गरी बैंकका पूर्व कर्मचारीले पनि त्यागे प्राण

पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरी आफैले पनि प्राण त्यागेका छन् । पोखराको बिरौटामा नयाँ घर बनाएर कान्छी श्रीमती भित्र्याएको पाँच वर्षमै यस्तो भयावह दुर्घटना निम्त्याएका हुन्। हिजो (सोमबार) अपरान्ह श्रीमतीको हत्यापछि गम्भीर अवस्थामा भेटिएका बरालको उपचार क्रममा गए राति मृत्यु भएको हो। उनको हातबाट ३७ वर्षीया देवी पराजुली बराल मारिएकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई वटा घरबार गरेका ऋषिरामले कान्छी श्रीमती देवीसँग झगडा परेपछि धारिलो हतियार प्रयोग गरे। अनि त्यतिले नपुगेर मेडासिड नामक विषादी पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ। घटना लगत्तै सो स्थानमा पुगेका तथा अनुसन्धानका जिम्मेवारी लिएका वडा प्रहरी कार्यालय वैदामका डीएसपी सन्तोष निरौलाका अनुसार घटनाको जानकारीपछि प्रहरी टोली पुग्दा श्रीमान–श्रीमती दुवै रगताम्मे अवस्थामा थिए । श्रीमतीको अनुहारमा चोट थियो भने श्रीमानको घाँटीमा। श्रीमतीमाथि आक्रमण गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको छ।
जेठी श्रीमती र उनको परिवारसँग नजिकिएको थाहा पाएपछि कान्छीसँग सम्बन्ध बिग्रिएको छिमेकी र आफन्तको अनुमान छ । दुई छोरा ,एक छोरी र जेठी श्रीमती पोखराकै मासबारस्थित अर्को घरमा बस्छन् । पाँच वर्षअघि बैंकबाट अवकाश लिएका चालक बरालले निकै कम उमेरकी युवतीलाई श्रीमतीको रुपमा नयाँ घरमा भित्र्याएका थिए।
पछिल्लो समय जेठी श्रीमती र उनको परिवारसँग नजिकिएको थाहा पाएपछि कान्छीसँग सम्बन्ध बिग्रिएको छिमेकी र आफन्तको अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । मृतक बरालले हिजो दिउँसो पनि फेसबुक पेजमा जेठी श्रीमतीसँगको फोटो र भिडियोहरु दुई पटक पोष्ट गरेका थिए । वैशाख १४ गते बैंकको वार्षिकोत्सवमा उपस्थित उनले पूर्व कर्मचारीहरुसँग अस्वाभाविक प्रश्न र व्यवहार गरेको बताइएको छ ।