फेरि जाग्दै राजावादी : संघर्षको खाका तयार गर्न जनआन्दोलन समितिको बैठक बस्दै


१६:२९ बजे

काठमाडौं । काठमाडौंको तीनकुने घटनापछि सेलाएका राजावादीहरु पुनः सक्रिय बन्न थालेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने गरी तयारी थालेको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दोलनका कार्यक्रम तय गर्न आज बैठक बोलाएका छन् ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकपछि केही सुस्ताएको राजावादी आन्दोलन फेरि उठ्ने दाबी गरिएको छ । यसअघि नवराजको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका डा. जगमान गुरुङ पनि बैठकमा बस्ने छन् । सदस्य सचिव डा. रवीन्द्र मिश्र भने हिरासतमै रहेकाले उनको उपस्थिति रहने छैन ।

गत चैत १५ मा भएको तीनकुनेको आन्दोलनपछि सरकारले संयुक्त जनआन्दोलन समितिका संयोजक सुबेदीलाई अघोषित नजरबन्दमा राखेको थियो भने मिश्रलाई पक्राउ गरिएको थियो । सुबेदी गत साताबाट नजरबन्दमुक्त भएर फेरि समितिको जिम्मेवारीमा फर्किएका छन् । मिश्रको भने हिजो छैटौंपटक म्याद थप गरिएको छ । मिश्रसँगै पक्राउ परेका जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा भने उपचारका लागि हाजिरी जमानीमा छुटिसकेका छन् ।

आजको बैठकले राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् । ‘अब आन्दोलनमा उत्रिन ढिलाइ हुँदैन । सत्ता पक्षलाई निर्णायक धक्का दिने गरी आजै नयाँ आन्दोलनको घोषणा गर्नेछौं,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७