कांग्रेस उपसभापतिको निवासमा विभागीय तीन मन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार र नेपाल शिक्षक महासंघबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा छलफल भइरहेको हो ।
छलफलमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखरेल र शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना प्रतिनिधि छलफलमा सहभागी छन् ।
यस छलफलबाट हुने सहमति आजै बस्ने मन्त्रिपरिषद्को बैठकमा लैजाने र सरकारले त्यसको स्वामित्व ग्रहण गरेपछि शिक्षक महासंघले आन्दोलनका घोषित कार्यक्रममा पुनरावलोकन गर्ने तयारी छ । शिक्षक महासंघले आफ्नो ९ बुँदे प्रस्तावमा मन्त्रिपरिषद्ले तत्काल निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाइसकेको छ ।
आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुले सरकारमाथि दवाव बढाएका थिए । नेपाली कांग्रेसले महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखकलाई आन्दोलनरत शिक्षकहरुसँग संवाद गरेर सहमतिमा ल्याउने जिम्मेवारी दिएको थियो । त्यसै अनुसार कांग्रेस नेताकै पहलमा विभागीय मन्त्रीसहित आन्दोलनरत शिक्षक महासंघको नेतृत्वसँग छलफल भएको हो ।