युुवामा आशा जगाउने र ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता

काठमाडौं । सत्तारुढ दलले अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा राखेको सत्ता गठबन्धन दलको बैठकले अर्थतन्त्र अझै पनि शिथिल अवस्थामा रहेको र युवाहरु रोजगारीका लागि विदेश जाने क्रम अझै बढेकाले ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन सुझाव दिइएको जानकारी दिए । ‘अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न पनि सुझाव दिइएको छ,’ उनले भने, ‘बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी ‘मेजर ब्रेक थ्रु’ गर्न त्यहीरुपमा बजेट ल्याउनुपर्ने धेरै नेताहरुको सुझाव छ ।’
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।
कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा अनुपस्थित थिए । पछिल्लो समय गगन र ओलीबीचको सम्बन्ध चिसिएको छ । गगनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर वैशाख पहिलो साता प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएकामा ओलीले केही दिनअघि बिचौलियालाई पहुँच दिएको प्रमाणित गर्न चुनौती दिएका थिए ।