रेशम चौधरी चाँडै छुट्नु हुन्छ : रञ्जिता श्रेष्ठ


२०८२ बैशाख १८ बुधबार १८:४८ बजे
फाइल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाका संरक्षक रेशम चौधरी चाँडै छुट्ने बताएकी छिन् । आज (बुधबार) पार्टी एकता घोषणा सभाबाट पक्राउ परेका चौधरी चाँडै छुट्ने उनले विश्वास व्यक्त गरेकी हुन् । ‘रेशमजी छिट्टै छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,’ उनले लेखेकी छिन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले आजै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका रेशम चौधरीलाई हाल डिल्लीबजार कारागार राखिएको छ ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई बुधबार बिहान पत्र पठाएको थियो । उक्त पत्र कार्यान्वयन गर्न प्रहरीले चौधरीलाई पार्टी एकतास्थलबाट पक्राउ गरी डिल्लीबजार कारागार बुझाइसकेको छ । प्रहरीले रेशमलाई पक्राउ गर्नू भन्ने पत्र सर्वोच्चको मुद्दा तथा रिट शाखाले पठाएको बताएको छ। सर्वोच्चको सो पत्र नेपाल प्रहरी र डिल्लीबजार कारागार समेत पुगेको छ । सो पत्र आजै प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिराज बोहराले बताए । कारागार स्रोतले पनि आजै पत्र प्राप्त भएको पुष्टि गरेको छ । सर्वोच्चबाट गएको सो पत्रमा त्यहाँका शाखा अधिकृत मोहिमान सिंह विष्टको हस्ताक्षर छ । तर यो पत्रलाई लिएर सर्वोच्चमा अहिले हंगामा भएको छ । यो के भएको हो भनेर बुझ्ने काम भइरहेको सर्वोच्च स्रोतको भनाइ छ ।

सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले रेशम चौधरीलाई थुनामा पठाउने भन्ने फैसला गरेका छैनन् । तर सर्वोच्चको मुद्दा शाखाले योगराज ढकाल (रिगल) को मुद्दामा २०८० कात्तिकमा गरेको फैसलामा टेकेर सो पत्र पठाएको छ । यसरी एउटा मुद्दाको नजिरमा टेकर अर्को मुद्दाको कार्यान्वयनबारे पत्र पठाउने अधिकार सर्वोच्चको मुद्दा तथा रिट शाखालाई नभएको स्रोतको भनाइ छ ।
२०७२ सालमा कैलालीको टीकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आम माफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आम माफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७