हेन्सम हुनुहुन्छ, फिल्म खेल्न आए हुन्छ भन्दा पनि गाली खाइन्छ : प्रधानमन्त्री


२०८२ बैशाख १८ बुधबार २१:०५ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने बताएका छन् । आज (बुधबार) राजधानीको नाचघरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब राजतन्त्र नफर्किने दाबी गरेका हुन् । ‘तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न खोज्छन् । प्रेत कहिल्यै फर्केर आउन सक्दैन । भूतप्रेत भनेको यही हो’, उनले भने, ‘विवाह पनि यिनीहरूले भने जस्तै गर्नुपर्ने ? लभ गर्न पनि नपाइने भयो कि क्या हो ! तानाशाही बहिष्कार गर्नेको झुण्ड सानो छ । तर ठूूलो स्वरले कराउँछन् । तर आजको युगमा सम्भव छैन ।’

कार्यक्रममा उनले अभिनेत्री सुरक्षा पन्तले पूर्व नव युवराज हृदयन्त्र शाहलाई टिप्पणी गरेको आधारमा राजावादीहरूले फिल्म बहिष्कार गरेकोमा पनि असन्तुष्टि जनाएका छन् । रैतीहरूले लोकतन्त्र, वाक स्वतन्त्रता सुन्नै नसक्ने भएकाले एउटा कलाकारले केही बोलेको आधारमा तानाशाहरूले फिल्म बहिष्कार गरेको आरोप लगाए । ‘एउटा मन परेको कलाकारले मन परेको कुरा गर्नु भयो,’ कलाकार सुरक्षा पन्ततिर संकेत गर्दै ओलीले भने, ‘एउटा हेन्सम ब्वाइ छ, फिल्म खेल्न आए हुन्छ । कलाकार भए हुन्छ भन्दा पनि गाली खाइन्छ ।’

भर्खरै एक टेलीभिजन कार्यक्रममा पन्तले पूर्वराजा ज्ञोन्द्र शाहका नाती हृदयेन्द्र शाहलाई आकर्षक अनुहार भएको भन्दै फिल्म खेल्न आए हुन्छ भन्ने सुझाव दिएकी थिइन् । सोही विषयलाई लिएर राजावादीहरुले उनको चर्को आलोचना गरिरहेका छन् । प्रधानमन्त्री ओलीले त्यसतर्फ लक्षित गर्दै आफूहरुले गणतन्त्र ल्याए पनि केहीले रैती नै हुन चाहेको उल्लेख गरे ।

‘राजनीतिमा आउँछ भन्दैन, राजा बनाए कसो हुन्छ भन्छ अर्काले,’ उनले भने, ‘त्यो त अहिलेको समयमा अलिक सुहाउँदैन होला भनेपछि उधुम गालीको वर्षा हुन्छ । मुर्खहरुको पनि सानोतिनो भीड छ । रैतीबाट आफै माथि उठ्न नचाहनेहरु । यिनलाई हामीले उठाउन खोज्यौं । गणतन्त्र ल्यायौं । रैती हुम भन्छन् ।’ कलाकार प्रकाश सपुतले आफ्नो प्रशंसा गर्दा भएको आलोचनातिर पनि संकेत गर्दै ओलीले भने, ‘एक कलाकारले एउटा मञ्चमा एक जनाको दुई शब्द सकरात्मक बोलीदिएछ ।’ उनले थपे, ‘डेमोक्रेसी भनेको सुन्नै नसक्ने । वाक स्वतन्त्रता सुन्नै नसक्ने । कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने । तानाशाहीको प्रेत कस्तरी चम्केको होला ?’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७