श्वेतपत्र जारी गर्न किन रोकिए हितेन्द्र ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेत पत्र रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले सबै पत्रकारलाई आज बिहान साढे ११ बजे श्वेत पत्र सार्वजनिक गर्ने भनेर निमन्त्रणा गरेको थियो। तर, आज बिहान प्राधिकरणबाट नै प्राविधिक कारणले आज श्वेतपत्र सार्वजनिक नहुने भनेर सूचना आएको थियो । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको भन्दै सूचना पठाएको थियो ।
समय नै तोकेर आज साढे ११ बजे सार्वजनिक गर्ने भनेको श्वेत पत्र किन सार्वजनिक भएर भनेर प्रश्न गर्दा शाक्यले तयारी पूरा नभएकाले आज श्वत पत्र सार्वजनिक नभएको जानकारी दिएका छन् । उनले भने, ‘श्वेत पत्रको लागि हिजो अबेरसम्म काम भयो । तर, श्वेत पत्रको सांरश लेख्न भ्याइएन । अब आज सबै काम सकाएर भोलि सार्वजनिक हुन्छ ।’
प्राधिकरणको सञ्चालक समितिबाट श्वेतपत्र केही संशोधन भएर पास भइसकेको छ । स्रोतका अनुसार हाल तयार भएको श्वेत पत्रले ऊर्जा मन्त्री दीपक खड्कालाई केही अप्ठ्यारो पर्ने भएकाले रोकिएको हो । त्यसलाई करेक्सन गरेपछि श्वेत पत्र सार्वजनिक हुने भएको हो । सरकारको बर्खास्तमा परेका कुलमान घिसिङको पालामा भए गरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज श्वेतपत्र सार्वजनिक गर्ने तयारी रहेको थियो । अब भोलि सार्वजनिक गर्ने तयारी प्राधिकरणले गरेको छ ।