राप्रपा रणनीति : सीमित नेताले निषेधित क्षेत्र तोड्ने, मुठभेड बिनै गिरफ्तारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको जनप्रदर्शनमा प्रहरीसँग मुठभेड नगर्ने रणनीति बनाएको छ । निषेधित क्षेत्र तोड्ने योजना भए पनि त्यो शान्तिपूर्ण हुने नेताहरूले बताएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले भनेका छन् ।
आज भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल् यो–यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरूद्धको प्रतीकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको उनले बताएका छन् । ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं,’ अध्यक्ष लिङ्देनले भनेका छन् । निषेधित क्षेत्र तोड्न राप्रपाले आज नेता–कार्यकर्तालाई विजुली बजार पुलमा भेला हुन भनेको छ । त्यहाँ जम्मा भएका उनीहरूले आज निषेधित क्षेत्रतर्फ अघि बढ्ने बताएका छन् । सरकारले बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । त्यहाँबाट सीमित संख्यामा नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रमा प्रवेशको प्रयास गर्नेछन् । तर प्रहरीले रोकेको खण्डमा धेरै घम्साघम्सी नगर्ने बताइएको छ ।
‘प्रहरीले सुरूमै अनावश्यक बल प्रयोग गर्यो भने बेग्लै कुरा नत्र हाम्रो तर्फबाट मुठभेड हुँदैन,’ ती नेताले भने । प्रहरीले धरपकड गर्न खोजे सामूहिक गिरफ्तारी दिने उनले बताए । यसैबीच राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् । मन्त्रालयले त्यस्ता गतिविधि भए कानुन अनुसार कारबाही हुनेबारे सचेत गराएको छ ।
मन्त्रालयले संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ । ‘यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ । साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।